दुवै खुट्टा गुमाएका सगरमाथा आरोहीलाई विमानस्थलमा स्वागत
काठमाडाैं | जेठ ९, २०८०
काठमाडौं: घुँडासम्म दुवै खुट्टा गुमाएका सगरमाथा आरोही हरिबहादुर बुढालाई आज त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । लुक्लाबाट काठमाडौं आइपुग्नुभएका आरोही बुढालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, पर्यटन व्यवसायीका साथै मगर समुदायले झाँकीसहित स्वागत गर्नुभएको हो ।
भूतपूर्व गोर्खा सैनिक समेत रहनुभएका बुढा यही जेठ ५ गते दिउँसो सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो । योसँगै उहाँले घुँडामाथिसम्म खुट्टा गुमाएर सगरमाथा आरोहण गर्ने पहिलो आरोही समेत बन्नुभएको छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।
स्वागत गर्दै पर्यटन मन्त्री किरातीले आरोही हरिबहादुर बुढाले आफ्नो जीवनमा अदम्य साहस पटक–पटक देखाउनुभएको भन्दै हार्दिक बधाई दिनुभयो ।
“हरिबहादुर बुढाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट नयाँ सन्देश दिनुभएको छ”, मन्त्री किरातीले भन्नुभयो, “उहाँले विश्व समुदायलाई अथक मेहनत र इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिनुभएको छ ।”
सो अवसरमा आरोही बुढाले आफ्नो सफलतामा सहयोग गर्ने टिमलाई विशेष धन्यवाद दिनुभयो । “आफ्नो व्यस्त समयका बाबजुद पनि तपाईँहरू मलाई स्वागत गर्न आउनुभएको छ । यसका लागि म धेरै–धेरै धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “आफ्नो ज्यानको बाजी राखेर मलाई सगरमाथाको चुचुरोमा पुर्याउने टिम बिना मेरो प्रयास सफल हुने थिएन ।” उहाँले सो अवसरमा नेपाल सरकार र संसारका विभिन्न कुनाबाट आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
पोखरा: कास्की प्रहरीले पोखरा ८ सभागृह चोक नजिकै खुडा प्रहार गरी सिर्जना पौडेल केसीको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतका २७ वर्षीय सन्तोष भन्ने शिशिर के...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...
पोखरा महानगरपालिका ५ मालेपाटनमा पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा आज (बिहीबार) देखि पूर्व खेलाडीहरुको सद्भावना अभिवृद्ध...

